परिचय

तत्कालिन स्थानीय विकास मन्त्रालयले सम्बन्धित मन्त्रालय तथा निकायहरुसँगको छलफल र लिखित सहमति लिएर तयार गरी  बिक्रम सम्बत २०७० साल असोज २३ गते नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत भएको वातवरणमैत्री स्थानीय शासन प्रारूप, २०७० लाई स्थानीय वातावरणको क्षेत्रमा एउटा  महत्वपूर्ण अवधारणाको रुपमा लिईन्छ।संबिधान देखि विभिन्न नीतिहरु, कानूनहरु, सरकारका प्रतिबद्धताहरुमा छरिएर रहेका वातावरण, फोहर व्यवस्थापन, विपद जोखिम न्यूनीकरण तथा जलवायु अनुकुलन सम्बन्धि बिषयहरु तथा स्थानीय आवस्यकतालाई अत्यन्त सुक्ष्म ढङ्गले विश्लेषण गरी  घरपरिवार तह देखि जिल्ला तहसम्मबाट हाशिल गर्ने नतिजा सूचक बनाई यो प्रारुपमा समावेश गरिएको छ । देशले सङ्‍घीय शासन प्रणाली अवलम्बन गरेपछि  उक्त प्रारुपलाई संघीय संरचना र अधिकार बमोजिम हुनेगरी वर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिमार्जन गरि २०७८ असार १५ मा  मन्त्रीस्तरबाट स्वीकृत गरी कार्यन्वयनमा ल्याएको  छ। यो वातावरण क्षेत्रमा सरकारी निकाय आफैले तयार गरेको एउटा महत्वपूर्ण दस्ताबेज  हो । यस प्रारुपमा घर परिवार तहदेखि जिल्ला तहसम्मका आधारभूत र परिष्कृत सूचक गरि २३४ वटा नतिजा सूचकमा रुपान्तरण गरिएको छ ।

घरपरिवार तह देखि टोल बस्ती हुँदै सबै स्थानीय तहलाई सफा, ‍स्वच्छ, हराभरा बनाई घरपरिवार, समुदाय र स्थानीय तहहरूलाई सकारात्मक प्रतिष्पर्धाको माध्ययमद्वारा वातावरणमैत्री दिगो विकासका लागि जिम्मेवार बनाउन यस प्रारुपले प्रोत्साहित गरेको छ।वातावरणमैत्री स्थानीय शासन (Environment Friendly Local Governance – EFLG) भन्ने शब्दले स्थानीय तहमा शासन, योजना, नीति, कार्यक्रम र सेवा प्रवाहका सबै गतिविधिहरूमा वातावरण संरक्षण, दिगोपन, स्वच्छता, विपद जोखिम न्यूनीकरण  र जलवायु अनुकूलनका अभ्यासहरूलाई समावेश गर्ने प्रक्रियालाई जनाउँछ।यसको मूल उद्देश्य सफा, हरित, सुरक्षित, दिगो विकासमुखी र जलवायु सम्बेदनशील स्थानीय शासन प्रणाली  निर्माण गर्नु हो, जसले समुदाय, अर्थतन्त्र र प्राकृतिक स्रोतबीच सन्तुलन कायम गर्न सहयोग पुर्‍याउँछ। वातावरणमैत्री स्थानीय शासन को मूल भावनाले स्थानीय तहलाई यस्तो शासन प्रणाली बनाउन प्रेरित गर्छ जसले;

  • वातावरणीय सन्तुलन कायम राख्ने,
  • प्राकृतिक स्रोतहरूको दिगो उपयोग गर्ने,
  • फोहर व्यवस्थापन र प्रदूषण नियन्त्रण गर्ने, र
  • जलवायु परिवर्तनका नकारात्मक प्रभावहरू घटाउने एवं विपद जोखिम कम गर्ने काममा सक्रिय भूमिका खेल्ने।